काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सबै कार्यकारिणी सदस्यहरुलाई 'स्टेन्डबाई' रहन निर्देशन दिएको छ।
कार्यकारिणी समितिको बुधबार र बिहीबार बसेको बैठकले स्थानीय तहको निर्वाचनको सम्बन्धमा छलफल र अन्य निर्णयहरु गर्नका लागि सबै सदस्यलाई चैत मसान्तसम्म 'स्टेन्डबाई' रहन निर्देशन दिने निर्णय गरेको हो।
बैठकले सबै सुझावहरु समेटिने गरी विधान पारित गर्ने निर्णय गरेको छ। यसका साथै प्रशिक्षण र संगठन विस्तार कार्यलाई तीव्रता दिने निर्णय समेत गरेको छ।
यस्तै, गठबन्धनको सम्बन्धमा आफूहरु खुल्ला रहेको निष्कर्ष निकाल्दै बैठकले 'आवश्यक्ताअनुसार गर्ने' निर्णय गरेको छ। बुधबारको बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुनेगरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका थिए।
व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्ने गरी तालमेल गर्न सुझाव आएको थियो। बैठकमा बोल्ने कार्यकारिणी सदस्यहरुले तालमेलको निर्णय केन्द्रबाट नभइ जिल्लास्तरबाट हुनुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।