काठमाडौं– नेपाली कांग्रेसको 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति'ले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्देशन गरेको छ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिको बिहीबार बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको हो।
बैठकले विधानमा गरिएको व्यवस्था बमोजिम विभिन्न तहमा संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न बैठकले निर्देश समेत गरेको छ।
पार्टीका नेता/कार्यकर्ताहरुले अब सम्पूर्ण समय निर्वाचन परिचालन अभियानमा क्रियाशील हुने निर्णय समेत बिहीबारको बैठकले गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार समितिमा ५५ जना सदस्यहरु मनोनित गरेपछि बिहीबार बैठक बसेको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारको बैठकमा समितिका केही सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।