काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिबद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरुलाई नै दिएको स्पष्ट पारे।
बिहीबार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा निर्वाचन सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुशासन र सदाचारको कुरा गर्ने राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना आफूले गरे÷नगरेको आफैंले अनुगमन गर्नुपर्ने पनि बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैले अनुशासित ढंगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेर देखाउने काम गर्नुपर्ने स्पष्ट पारे।
प्रमुख निर्वाचन आयुक्त थपलियाले जनताको मत, अभिमत पैसा र पदले खरिदबिक्री गर्न सकिँदैन भन्ने मान्यताको आधारमा निर्वाचनमा खर्चको सीमा तोक्ने काम आयोगले गरेको बताए।
उनले गाउँपालिकाको अध्यक्षका लागि तोकिएको निर्वाचन खर्चको सीमा नपुग हुने प्रमाण ल्याए आफूहरु त्यसमा पुनरावलोकन गर्न तयार रहेको पनि बताए।
राजनीतिक दलहरुले निर्वाचन खर्च महंगो भयो भनेर आफैं भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने तर्क गरे।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन खर्च धेरै भए लोकतन्त्र खतरामा पर्नेतर्फ पनि राजनीतिक दल र उम्मेदवारहरुलाई सचेत बताए।
कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन खर्चिलो भए लोकतन्त्र नै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे। उनले निर्वाचनमा धेरै खर्च भए त्यसबाट निर्वाचित हुने जनप्रतिनिधिहरुले सुशासन नभई त्यसको उल्टो काम गर्नुपर्ने अवस्था आउनेतर्फ पनि स्मरण गराए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लोकतन्त्रको सुदृढीकरणका लागि चुनावमा मितव्ययी ढंगले खर्च गर्ने कुरा राजनीतिक दलहरुको संस्कृतिमा निर्भर रहने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।