हेटौंडा- प्रदेश नं ३ को बिहीबारको प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७५ तथा कर र गैरकर राजश्व विधेयक २०७५ बहुमतले पारित गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले ती दुवै विधेयकसम्बन्धी प्रस्ताव पेश गर्दै प्रदेशको दिगो विकासका लागि पूर्वाधार बनाउँदै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेशमा आन्तरिक राजस्व वृद्धि गर्न आवश्यक भएकाले ती दुवै विधेयकलाई पारित गर्न आवश्यक भएको बताए।
बैठकमा सदस्य न्हुछेनारायण श्रेष्ठले ३ नं प्रदेशसभा नियमावली २०७४को नियम २१६ को उपनियम ३ बमोजिम प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गर्नेबारे राखेको र मुनु सिग्देलले समर्थन गरेको प्रस्तावलाई बैठकले स्वीकृति प्रदान गरेको थियो।
बैठकले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिमा रामेश्वर फुयाँल, कञ्चन खनाल, केशवराज पाण्डे, मीना ज्ञवाली, रमेश पौडेल, राधा घले र सुरेन्द्रराज गोसार्इँ रहनुभएकामा स्वीकृति प्रदान गरेको थियो।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले तत्कालीन कांग्रेसको सरकारको पालामा नियुक्ति पाएका प्रदेश प्रमुखलाई वर्तमान सरकारले हटाउने निर्णय गरेकामा आपत्ति प्रकट गरेका थिए।
प्रदेशसभाको अर्को बैठक साउन ३ गते अपराह्न २ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।