राजविराज– पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको वहाब बढेको छ। बिहीबार दिउँसोदेखि पानीको वहाब खतराको सीमाभन्दा माथि पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।
इलाका प्रहरी कार्यालय भारदहले दिएको जानकारी अनुसार बिहीवार दिउँसो २ बजेको रेकर्ड अनुसार पानीको वहाब १ लाख ५० हजार ६ सय ९५ क्युसेक पुगेको छ। पानीको वहाब १ लाख ५० हजार क्युसेकभन्दा माथि नाघेपछि खतराको संकेत प्रयोग गरिन्छ।

पानीको वहाब खतराको सीमाभन्दा माथि पुगेपछि पुलको दुवै छेउमा रातो बत्ती बालिएको र झन्डा टाँगेर सर्वसाधारणलाई सचेत गराइएको छ। प्रहरीका अनुसार कोसी ब्यारेजका ५६ ढोकामध्ये २४ ढोका खुल्ला गरिएको छ। पानीको वहाब बिहानैदेखि लगातार बढिरहेको भारदह प्रहरीका इन्चार्ज तेजबहादुर श्रेष्ठले बताए। उनका अनुसार बिहान ८ बजेको रेकर्ड अनुसार पानीको वहाब १ लाख ३९ हजार ५ सय ७५ क्युसेक थियो।
सन् १९६२ मा बनेको कोसी ब्यारेजको वहाब क्षमता निर्माणताका १२ लाख क्युसेक भए पनि बाँध पुरानो र जीर्ण बन्दै गएपछि वहाब क्षमता पनि कम भएको प्राविधिकहरु बताउँछन्। बालुवा र ग्रेगरका कारण नदीको सहत माथि आएकाले पनि वहाब क्षमता घटेको उनीहरुको भनाइ छ। ब्यारेजको क्षमता हाल ६ लाख क्युसेक रहेको प्राविधिकहरुको भनाइ छ।

२०६५ भदौ २ मा कोसीको पूर्वी तटवन्ध भत्किँदा नेपाल तथा भारतका कयौं गाउँ डुवानमा परेका थिए। कोसीमा बाढीको जोखिम बढ्दै जाँदा सुनसरी र सप्तरीका सर्वसाधारणमा त्रास उत्पन्न हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।