काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।
मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग बिहीबार भएको टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ। सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ।
मन्त्री ज्ञवालीले मलेसियाका विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह स्वीकार गर्दै मलेसियाली विदेशमन्त्रीले कूटनीतिक माध्यमबाट भ्रमणबारे जानकारी दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिलाएको पनि मन्त्रालयले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।