• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बंगलादेशमा नेपाली विद्यार्थी पढ्ने ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन

64x64
नेपाल लाइभ बिहीबार, असार २१, २०७५  १३:०९
1140x725

बंगलादेशका ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन रहेको यहाँको मेडिकल एन्ड डेन्टल काउन्सिलले खुलासा गरेको छ । स्वास्थ्य खबरपत्रिकासँग कुरा गर्दै बंगलादेशको मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया भन्छन्, ‘यो थाहा पाउँदापाउँदै यहाँ पढ्न आउनु मुर्खता मात्रै हो ।’ यसले यहाँ पढिरहेका करिब २ हजार नेपाली विद्यार्थीको भविष्यमाथि गम्भीर प्र्रश्न उठाइदिएको छ ।

काठमाडौं– ‘बंगलादेशका अधिकांश निजी मेडिकल तथा डेन्टल कलेज चिकित्सा शिक्षा अध्ययनका लागि योग्य छैनन् । विशुद्ध व्यापारका लागि खोलिएका यस्ता कलेजमा डाक्टरी शिक्षा अध्ययन गर्न आउनु भनेको फस्नु मात्रै हो।’

यो भनाइ बंगलादेशमा अध्ययनरत कुनै विद्यार्थी वा नेपाल मेडिकल काउन्सिलको होइन । यो त बंगलादेशका सम्पूर्ण मेडिकल कलेज तथा डेन्टल कलेजहरूलाई नियमन गर्ने प्रमुख निकाय ‘बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल’का रजिस्ट्रार डा जाहेदुलहक बसुनियाको भनाइ हो।

बंगलादेशको ढाकास्थित सरानीविजोय नगरमा रहेको काउन्सिलको कार्यालयमा २०७५ जेठ ७ गते दिउँसो २ बजे स्वास्थ्यखबरको टोलीसँग रजिस्ट्रार डा बसुनियाले आफ्नो देशको चिकित्सा शिक्षाको तितो यथार्थ पोखे । नियमनकारी निकाय भएर पनि आफ्नो देशमा एमबिबिएस र बिडिएसको क्षेत्रमा विकृति र विसंगतिका कुरा उनले बताएका छन् ।

(रजिस्ट्रार डा जाहेदुलहक बसुनियाको अन्तर्वार्ता शुक्रबार प्रकाशित हुनेछ)

बंगलादेशमा एक सयभन्दा बढी मेडिकल तथा डेन्टल कलेज रहेको, तीमध्ये २४ वटा सरकारी र बाँकी सबै निजी कलेज रहेको उनले जानकारी दिए । ‘निजी मेडिकल कलेजहरू ८० देखि ८५ प्रतिशत गुुणस्तरहीन छन् । पैसा कमाउने उद्देश्यले खोलिएका यस्ता कलेजमा पढ्न आउनु बेकार हो,’ उनले भने, ‘हाम्रा मेडिकल कलेज गुुणस्तरहीन छन् भन्ने जान्दाजान्दै पनि पढ्न आउनु मुर्खता हो।’ 

बंगलादेशमा राजनीतिक दबाब र आर्थिक प्रलोभनमा काउन्सिलका मापदण्ड र पूर्वाधार पूरा नभएका कलेजहरूलाई काउन्सिलले मान्यता दिनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । ‘हाम्रो काउन्सिलले मान्यता दिएको कलेज हो भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘मेडिकल कलेजका लागि हुनुपर्ने कुनै पनि मापदण्ड र पूर्वाधार पूरा नभए पनि हामी हात बाँधेर बस्नु परिरहेको छ।’ उनले अध्ययनका लागि बंगलादेश आउने हो भने सकेसम्म सरकारीमा मात्र पढ्न सुझाव दिए।

बंगलादेशका मेडिकल र डेन्टल कलेजमा अध्ययन गरेर फर्केका नेपाली डाक्टरी विद्यार्थीको गुणस्तर र सिपका विषयमा प्रश्न उठ्न थालेपछि स्वास्थ्य खबरपत्रिकाको टिमले जेठको पहिलो साता बंगलादेशका मेडिकल र डेन्टल कलेजको स्थलगत अध्ययन गरेको थियो । जेठ ३ देखि ८ गतेसम्म टिमले नेपाली विद्यार्थी धेरै पढ्न जाने बंगलादेशका विभिन्न ११ वटा निजी मेडिकल र डेन्टल कलेजमा अध्ययनरत ५४ नेपाली विद्यार्थीसँग कुराकानी गरेको छ । यो क्रममा टिमले त्यहाँका मेडिकल र डेन्टल कलेजको समेत स्थलगत अध्ययन गरेको थियो। 

Ncell 2
Ncell 2

बंगलादेशको ढाका र सिल्हेटका मेडिकल कलेजमा एमबिबिएस र बिडिएस अध्ययनरत नेपाली विद्यार्थीसँगको कुराकानीमा सबै विद्यार्थीले बंगलादेशमा पढ्न नआउन नै सुझाव दिए । आफूहरू दलालको दलदलमा फसेको भन्दै नेपाली कन्सलटेन्सीहरूलाई उनीहरूले गाली गरेका छन् । ५४ जनामध्ये केहीसँग छुट्टाछुट्टै र केहीसँग सामूहिक कुराकानी भएको थियो । जसमा सबैको साझा भनाइ थियो, ‘बंगलादेशमा पढ्न आएर जीवन बर्बाद नबनाऔं।’

विद्यार्थीका साझा समस्या

स्वास्थ्यखबरसँगको कुराकानीका क्रममा बंगलादेशमा पढ्न पुगेका सबै विद्यार्थीले नेपाली कन्सलटेन्सीकै झुटका कारण आफूहरू कमसल कलेजको दलदलमा फसेको बताए। अधिकांशलाई कन्सलटेन्सीले सुरुमा बंगलादेशको सरकारी र सेनाको मेडिकल कलेजमा भर्ना गराउने भन्दै २ देखि ४ लाख रुपैयाँ लिँदै काठमाडौंमा केही समय अल्झाउने गरेको र अन्तिममा सबैतिर भर्नाको समय सकिएपछि बंगलादेशको कमसल निजी मेडिकल कलेजमा भर्ना गराएको ती विद्यार्थीले बताए। 

नेपाली विद्यार्थीले बंगलादेशमा भोग्ने सबैभन्दा ठूलो र साझा समस्या कमसल कलेज र कमजोर अध्यापन नै हो । यहाँसम्म कि बंगलादेशकै सरकारले कालोसूचीमा राखेको, मापदण्ड र गुणस्तर नपुगेका भनिएका कलेजमा समेत नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । बंगलादेशले कालोसूचीमा राखेका ३६ वटा मेडिकल र डेन्टल कलेजमा ७ सयभन्दा बढी नेपाली विद्यार्थी पढिरहेका छन्। बंगलादेशको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, मेडिकल तथा डेन्टल काउन्सिलले निलम्बन, अवैधानिक र दर्ता बन्द गर्दै यी कलेजलाई कालोसूचीमा राखेको हो। 

कालोसूचीमा राखिएका कलेजको नामावली

१. नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी ढाका

२. केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर ढाका

३. शाहबुद्दिन मेडिकल कलेज, गुल्सान ढाका

४. आइची मेडिकल कलेज, अब्दुल्लापुर ढाका

५. अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज ढाका

६. सफेना डेन्टल कलेज, डिआइटी रोड ढाका

७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर

८. सिटी मेडिकल कलेज, इटाहाटा, गाजीपुर

९. नाइटिंगेल मेडिकल कलेज, नाइटिंगेल पोइन्ट, अशुलिया

१०. बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग

११. जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिल्हेट

१२. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग

१३. गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार

१४. द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश

१५. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग

१६. आइबिएआइएस युनिभर्सिटी

१७. क्वीन्स युनिभर्सिटी

१८. सिल्हेट इन्टरनेसनल युनिभर्सिटी

१९. साउर्थन युनिभर्सिटी

२०. प्रिमियर युनिभर्सिटी

२१. ब्रिटानिया युनिभर्सिटी

२२. गोनो विश्वविद्यालय

२३. आशियान मेडिकल कलेज

२४. बसुन्धरा एडडीन मेडिकल कलेज

२५. अब्दुल हमिद मेडिकल कलेज

२६. ब्रह्मानबरिया मेडिकल कलेज

२७. युनिभर्सल मेडिकल कलेज

२८. केयर मेडिकल कलेज

२९. पार्कभ्यू मेडिकल कलेज

३०. युएस बंगला मेडिकल कलेज

३१. चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज

३२. विक्रमपुर भुइयान मेडिकल कलेज

३३. मोनोआरा सिक्देर मेडिकल कलेज

३४. मेराइन सिटी मेडिकल कलेज

३५. शाह मक्धुम मेडिकल कलेज

३६. एचएमसिएच मेडिकल कलेज

कालोसूचीमा परेका मेडिकल कलेजहरूको नामावली बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सिलमा पठाएको छ । काउन्सिलले ती कलेजमा नेपाली विद्यार्थी पढ्न जान रोक लगाइसकेको छ । तर, कन्सलटेन्सीहरूले राजनीतिक दबाबका कारण ती कलेज केही समय बन्द गरिएको र फेरि खुल्ने भन्दै विद्यार्थी झुक्याउन सुरु गरिसकेका छन्।

बंगलादेशकै मेडिकल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया भन्छन्, ‘हामीले मान्यता दिएका ८० प्रतिशतभन्दा बढी निजी कलेजको हालत खराब छ भने कालोसूचीमा राखेकाको अवस्था के होला ? यस्ता कलेजमा पढेका विद्यार्थी कस्ता डाक्टर बन्लान् ?’ उनले नेपाली विद्यार्थी अध्ययन गर्ने कतिपय मेडिकल कलेज त दर्तासमेत नभएको बताए।

बंगलादेशमा विद्यार्थीले भोग्ने अरू समस्यामा फोहोर र साँघुरो होस्टल, असुरक्षा, भिसाको समस्या, महँगो पढाइ, काउन्सिलको कोटाभन्दा बढी विद्यार्थी भर्ना गराएर विद्यार्थीलाई फेल गराउने, प्रोफेसरले नराम्रो व्यवहार गर्ने, प्रहरीले समेत नेपाली विद्यार्थीलाई दुःख दिने, मुस्लिम समुदायमा नेपाली विद्यार्थी घुलमिल हुन गाह्रो हुने लगायतका हुन् । होस्टलको दुर्गतिलाई नेपाली विद्यार्थीले ‘धर्मशाला’ भनेर उपनाम नै दिएका छन्। 

तर, यी सबै समस्यालाई नेपाली कन्सलटेन्सीले सुरुमा लुकाउँदै विद्यार्थीलाई ढाँट्ने गरेको विद्यार्थीहरूले बताए । उनीहरूका अनुसार नेपालका कन्सलटेन्सीहरूले नेपाली विद्यार्थीलाई बंगलादेशका भव्य आलिसान अस्पताल भवन, विख्यात प्रोफेसरको फोटो, अत्याधुनिक अस्पताल उपकरणहरू देखाउने, अंग्रेजी भाषामा उच्चस्तरको पढाइ हुन्छ भन्ने, होस्टलको सुविधा आकर्षक भएको बताउने, नेपालभन्दा सस्तो पढाइ हुन्छ भनेर झुक्याउने गरेका छन् । यसका साथै टुरिस्ट भिसामा लगेर अलपत्र बनाउनेसमेत गरेका छन्। 

बंगलादेशमा अध्ययन गरिरहेका विद्यार्थीको अर्को साझा समस्या भनेको अध्ययनका समयमा बिरामीलाई हेर्न नपाउनु पनि हो । यहाँका प्राध्यापकले नेपाली विद्यार्थीलाई विश्वास गर्दैनन् भने बिरामीले पनि विदेशीलाई पत्याउँदैनन्।

‘बिरामी नै छुन नपाएपछि कसरी राम्रो डाक्टर बन्न सकिएला र ?’ बंगलादेशको ढाकास्थित केयर मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘न प्रोफेसरले विश्वास गर्छन् न त बिरामीले नै।’ उनले आफूभन्दा अघि उक्त कलेजमा पढेकाहरू नेपालको मेडिकल कलेजका शिक्षण अस्पतालमा गएर बिरामी हेर्न सिकिरहेको बताए।

दलालको दलदल, विद्यार्थीको भविष्य बर्बाद

अध्ययनका क्रममा नेपाली कन्सलटेन्सीहरूले झुट–झुटको खेती गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको फेला परेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कै तथ्यांकअनुसार ३५ वटा कन्सलटेन्सीले नेपाली विद्यार्थीलाई बंगलादेशमा पठाउँदै आइरहेका छन्।

कन्सलटेन्सीले बंगलादेशका कलेजमा अंग्रेजी प्रोफेसरले पढाउँछन् भने पनि ८० प्रतिशतभन्दा बढी पढाइ बंगाली भाषामा हुने गरेको पाइयो । बंगलादेशका केही प्रोफेसरले कनिकुथी अंग्रेजीमा पढाउने गरे पनि पढाउँदा पढाउँदै अंग्रेजी नजानेर बंगाली भाषामै विषयगत कुराहरूको व्याख्या गर्ने गरेको भेटिएको छ। 

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलदेशका अध्यक्ष नवीन यादव भन्छन्, ‘हामीलाई त अंग्रेजी भाषामा पढाइ हुन्छ भन्ने लागेको थियो तर यहाँ ९० प्रतिशत बंगाली भाषामा पढाउँछन्, जसका कारण हामीले बुझ्नै सक्दैनौं,’ उनले भने, ‘यहाँका प्रोफेसरलाई अंग्रेजीको शब्दावली नै धेरै थाहा नहुने रहेछ, त्यही भएर अलिअलि अंग्रेजीमा पढाउँछन् अनि फेरि बंगाली भाषा बोल्न थालिहाल्छन्।’ 

यादवका अनुसार प्रोफेसरहरूमा बंगाली विद्यार्थीले बुझे पुग्छ भन्ने मानसिकता छ । उनीहरू नेपाली विद्यार्थीको मतलब नै गर्दैनन् । ‘यस विषयमा हामीले प्रश्न गर्‍यौं भने फेल गराइदिने प्रवृत्ति पनि छ यहाँ,’ यादवले भने, ‘त्यसैले सबै समस्या भएर पनि चुप बस्न बाध्य छन्।’

दूूतावासमा विद्यार्थीका गुनासाका चाङ

दलालकै कारण भविष्य अन्धकार भएको भन्दै बंगलादेशको ढाकास्थित नेपाली दूूतावासमा विद्यार्थीले गुनासो राख्दै आइरहेका छन् । बंगलादेशका लागि नेपाली राजदूूत डा चोपलाल भुसालका अनुसार दूूतावासमा हरेक दिनजसो मेडिकल विद्यार्थीको गुनासो आउने गरेको छ।

उनका अनुसार २ वर्षअघि त दूूतावासले २० विद्यार्थीलाई कूटनीतिक पहलमार्फत विभिन्न ६ वटा कलेजमा स्थानान्तरण गर्नुपरेको थियो । मापदण्ड नपुगी सञ्चालित ढाकास्थित नाइटिंगेल मेडिकल कलेज बन्द हुँदा त्यहाँ अध्ययनरत २० नेपाली विद्यार्थीलाई विभिन्न ५ मेडिकल कलेजमा स्थानान्तरण गरिएको हो।

‘दलालले यहाँका कमसल कलेजलाई उत्कृष्ट र राम्रो पढाइ हुने भन्दै झुक्याएर विद्यार्थी ल्याउँदै फसाइरहेका छन्,’ उनले भने, ‘जसका कारण विद्यार्थीहरूलाई हामीले विभिन्न समयमा उद्धार गर्दै अन्यत्र सार्नुपर्ने बाध्यता छ।’

उनले दूूतावासमा हरेक दिनजसो विद्यार्थीले कलेजमा पठनपाठन लगायतका कुरामा समस्या भएको भन्दै उजुरी लिएर आउने गरेको बताए । ‘अहिले पनि ढाकामै रहेको सिटी मेडिकल कलेजको पठनपाठन राम्रो नभएको भन्दै विद्यार्थीले विरोध गरिरहेका छन्,’ उनले भने, ‘उक्त कलेजमा पनि नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरू भविष्य अन्धकार हुने भयो भन्दै तनावमा आइरहेका छन्।’ 

राजदूत भुसालका अनुसार बंगाली विद्यार्थीहरूले नै गुणस्तरीय शिक्षा नभएको र अस्पताल राम्ररी नचलेको लगायत गुनासो गर्दै पठनपाठन नै बहिस्कार गरेका हुन् । ‘बंगलादेशको सरकारले नै समस्या समाधान गर्ने भनेपछि बल्ल पढाइ सुरु भएको छ,’ उनले भने, ‘यो कलेजको समस्या त समाधान भयो तर बंगलादेशमा यस्ता धेरै कलेज छन्, तिनमा जुनसुकै बेलामा पनि समस्या आउन सक्छ।’ 

बंगलादेशका अधिकांश निजी मेडिकल कलेज डाक्टरी शिक्षा अध्ययनका लागि योग्य नभएको भन्दै राजदूूत डा भुसालले दूूतावाससँग आवश्यक परामर्श लिएर मात्र अध्ययनका लागि आउन सुझाव दिए। 

नेपालभन्दा महँगो 

बंगलादेशका निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएस अध्ययन गर्न नेपालभन्दा पनि महँगो पर्छ। त्यहाँको अध्ययन शुल्क ४५ देखि ५० लाख रुपैयाँ छ । त्यसमाथि बंगलादेशमा ६ देखि ७ वर्षसम्मको बसाइका क्रममा हुने अरू लगानी, कलेजले विभिन्न शीर्षकमा समय–समयमा उठाउने खर्चसमेत गर्दा नेपाली विद्यार्थीले ६० देखि ७० लाख रुपैयाँ बेहोर्नुपर्ने हुन्छ। 

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका वरिष्ठ उपाध्यक्ष शिवशंकर साहका अनुसार नेपालमा भन्दा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय पढाइ र छात्रवृत्तिसमेत दिन्छ भनेर कन्सलटेन्सीले झुक्याउने गरेका छन् । उनका अनुसार कलेजले विभिन्न शीर्षकमा पटक–पटक गरेर नेपालमा भन्दा बढी पैसा असुल्ने गरेको छ भने प्राध्यापकहरूले नबुझिने गरी झारा टार्ने हिसाबले पढाउने गरेका छन्।

‘सोसाइटीमा बंगलादेशका विभिन्न सहरमा रहेका विद्यार्थीले दिएको जानकारीअनुसार यहाँको पढाइ नेपालभन्दा महँगो छ,’ साहले भने, ‘यति धेरै शुल्क तिरेर पनि प्राध्यापकले राम्रोसँग नपढाउँदा कतिपय विद्यार्थी त डिप्रेसनमा समेत पुगेका छन् ।’ नेपाली विद्यार्थीले घर–खेत बेचेर पढ्न आएका कारण कलेजमा बुझिने गरी नपढाउँदा होस्टलमा रातभर नसुती पढ्न बाध्य भइरहेको उनले बताए।

एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत साह बंगलादेशमा समस्यै समस्या रहेको बताउँछन् । ‘यति धेरै समस्या छन् कि यहाँको समस्या पार गरेर फर्केको मान्छे विश्वको जुनसुकै कुनामा पनि टिक्न सक्छ,’ उनले भने, ‘यहाँ हामी आफैंले स्वअध्ययन गरेर नै पास गर्नुपर्ने बाध्यता छ ।’ उनको कलेजमा नै एक सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

देखाउने एउटा, भर्ना अर्को कलेजमा

नेपालका कन्सलटेन्सीले सुरुमा सरकारी, सेनाको वा बंगलादेशमा थोरै संख्यामा रहेका राम्रा मेडिकल कलेजमा छात्रवृत्ति र भर्ना मिलाइदिने भन्दै फकाउँछन्। कमिसनको लोभमा यसरी अभिभावक र विद्यार्थीसँग पैसा लिने गरेको बंगलादेशमा अध्ययनरत विद्यार्थीले जानकारी दिए। 

उनीहरूका अनुसार सरकारी मेडिकल कलेजमा सस्तोमा पढ्न पाइने भएपछि विद्यार्थीले खुसीसाथ २/४ लाख बुझाएका हुन्छन् । तर पछि कन्सलटेन्सीले नेपालसहित सबैतिर कोटा सकिएपछि कमसल कलेजमा भर्ना गर्ने गरेका छन्।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादव आफैं यसका पीडित हुन् । सुरुमा उनलाई आर्मीको मेडिकल कलेजमा सिट मिलाउने भन्दै झुक्याइएको थियो । तर, पछि कोटा सकिएको भन्दै पपुलर मेडिकल कलेजमा भर्ना गर्न बाध्य बनाइयो।

उनीजस्तै पीडित हुन्, रमन कार्की पनि । म्यान्डी डेन्टल कलेजमा अध्ययनरत कार्कीलाई सुरुमा टिएमएसएस कलेजमा अध्ययनका लागि भनिएको थियो । त्यहाँ अध्ययनका लागि कार्कीलाई विदेशी संस्थाले झन्डै ७० प्रतिशत स्पोन्सरसमेत गरेको थियो। उनलार्इ पनि एउटा कलेज भन्दै टुरिस्ट भिसामा लगेको थियो । जबकि टुरिस्ट भिसामा त्यहाँ अध्ययन गर्नै पाइँदैन । सोही कारण टिएमएसएस कलेजले उनलाई भर्ना लिएन । त्यसपछि कार्कीले हालको त्यहाँको राम्रोमध्येको एक कलेज म्यान्डी कलेजमा आफ्नो समस्या राख्दै स्पोन्सरसिपका बारेमा जानकारी दिएपछि मात्रै भर्ना पाए । 

गत वर्ष मात्र नेपालका नाम चलेका डाक्टर वरिष्ठ छातीरोग विशेषज्ञ करविरनाथ योगीकी छोरीको भर्नाका क्रममा पनि कन्सलटेन्सीले त्यसैगरी झुुक्याएको थियो । डा योगीले बंगलादेशस्थित राजदूूत डा चोपलाल भुसालसँग रंगपुरस्थित कम्युनिटी मेडिकल कलेजका विषयमा बुझ्न लगाएका थिए ।

डा भुसालले उक्त कलेज ठिक भएको जानकारी दिएपछि डा योगीले कन्सलटेन्सीलाई भर्नाको पैसासमेत दिए । तर, पछि उक्त कलेजमा डा योगीकी छोरीको भर्ना मिलेन । कन्सलटेन्सीले झुक्याएको रहेछ । अरू नै कमसल कलेजमा भर्ना गर्ने भन्दै उक्त कन्सलटेन्सीले डा योगीलाई जानकारी दिएको थियो । योगीले समस्याका बारेमा राजदूूत भुसाललाई बताए । भुसालले अरू कलेजभन्दा सिल्हेटस्थित वुमन्स कलेजमा भर्ना हुन सुझाएपछि योगीले छोरीको भर्ना उक्त कलेजमा गरिदिए। 

राजदूूत डा भुसालका अनुसार बंगलादेश आउने ६० देखि ७० प्रतिशत विद्यार्थीलाई सुरुमा कन्सलटेन्सीले एउटा कलेज देखाउने र पछि अरू कलेजमा भर्ना गराउने गरेको पाइएको छ।

कोटाभन्दा धेरै भर्ना, फेल बढी

बंगलादेशका नाफामूलक मेडिकल कलेजको अर्को समस्या भनेको काउन्सिलले उपलब्ध गराएको कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्नु पनि हो । ‘नाफाका लागि खोलिएका कलेजहरूले हरेक वर्ष कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्छन् र बढी भर्ना भएका विद्यार्थी फेल गराउँदै अड्काउँछन्,’ राजदूूत डा भुसालले भने, ‘राम्रै पढ्ने विद्यार्थी भए पनि एक वर्षको कोटामा परेन भने फेल हुन्छ ।’ 
बंगलादेशकै मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया पनि यो कुरा स्विकार गर्छन् । भन्छन्, ‘विशुद्ध नाफा कमाउने उद्देश्यले खोलिएका मेडिकल कलेजलाई विद्यार्थीको भविष्यप्रति कुनै चिन्ता नै छैन । उनीहरूलाई पैसा कमाउन पाए पुग्छ।’

डा भुसालका अनुसार बंगलादेशमा पछिल्लो समय नेपालमा नाम निकाल्न नसकेका कमजोर विद्यार्थी पनि डाक्टरी पढ्न आउने क्रम बढेको छ । ‘एक त यहाँका कलेज नै कमसल छन्,’ उनले भने, ‘त्यसमाथि कमजोर विद्यार्थी पढ्न आउने क्रम झन् बढेको छ । यसले गर्दा पनि फेल हुनेको संख्या बढिरहेको छ।’

उनका अनुसार बंगलादेशमा सन् २००८ मा भर्ना भएका विद्यार्थीसमेत फेल भएर परीक्षा दिँदै बसिरहेका छन् । ‘यस्ता कमजोर विद्यार्थी मुस्किलले पास भएर गए पनि कस्ता डाक्टर बन्लान् ?’ उनले प्रश्न गरे, ‘त्यसमाथि मापदण्ड र पूर्वाधार नै नपुगेका कमसल कलेजमा पढेका उनीहरूमा कस्तो ज्ञान र सिप होला ?’ 

बंगलादेश पढ्न जाने अधिकांश कमजोर विद्यार्थी

दुई वर्ष अघिसम्म बंगलादेशमा हरेक वर्ष एक हजारभन्दा बढी विद्यार्थी एमबिबिएस र बिडिएस अध्ययनका लागि जान्थे । तिनीहरूमा सरकारी, दूतावास, विश्वविद्यालय लगायत विभिन्न छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी पनि पर्छन् । तर, निजी तवरले पढ्न जानेमध्ये धेरैजसो कमजोर विद्यार्थी नै हुन्थे । राम्रा विद्यार्थी विभिन्न छात्रवृत्ति र राम्रा कलेजमा पढेका हुन्छन् । तर कमजोर र सस्तो विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरू नेपालमा नै नाम निकाल्न नसकेकाहरू धेरै मात्रामा छन्। 

तर, २ वर्षअघि नेपाल मेडिकल काउन्सिलले विदेश पढ्न जान पनि परीक्षा पास गर्नुपर्ने नियम लागू गरेपछि भने बंगलादेशमा पढ्न जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । सन् २०१६ देखि प्रवेश परीक्षाको व्यवस्थापछि भने करिब ३ सय विद्यार्थी अध्ययनका लागि बंगलादेश जाने गरेको तथ्यांक छ । नेपालबाट परीक्षा पास भएर गए पनि बंगलादेशका कमसल कलेजमा दलालले फसाउँदा उनीहरूको अध्ययनमा असर गरिरहेको राजदूूत डा भुसालले जानकारी दिए।

प्रतिविद्यार्थी ५ लाखसम्म कमिसन

नयाँ कन्सलटेन्सीको प्रतिनिधिको परिचय दिएर बंगलादेशका केही कलेजमा जाँदा हामीलाई ती कलेजले २ लाखदेखि ५ लाखसम्म कमिसन दिने बताएका थिए । कमिसन धेरै दिनेमा कमसल कलेज नै थिए । ढाकाकै सिटी मेडिकल कलेज हामीलाई प्रतिविद्यार्थी ५ लाखसम्म कमिसन दिन तयार भएको थियो । यस्तै नर्थन इन्टरनेसन कलेजले विद्यार्थी संख्याका आधारमा ३ लाखदेखि ४ लाखसम्म दिने बताएको थियो । सिल्हेटको पार्कभ्यू मेडिकल कलेजले पनि विद्यार्थी संख्याका आधारमा २ लाखदेखि ४ लाख रुपैयाँ कमिसन दिने बताएको थियो।

राजदूूत डा भुसाल पनि कमसल मेडिकल कलेजले दलाललाई धेरै कमिसन दिने गरेको बताउँछन् । ‘हाम्रो आफ्नै निरीक्षण र विद्यार्थीको गुनासोका आधारमा जति झुर कलेज छन्, त्यति नै बढी कमिसन दिने गरेको पत्ता लगाएका हौं,’ उनले भने, ‘यो देखेपछि हामीले विद्यार्थी तथा अभिभावकलाई दूूतावाससँग बुझेर वा एक पटक बंगलादेश आएर मात्र भर्नाको निर्णय लिन सुझाव दिन थालेका छौं।’

राम्रालाई बदनाम बनाउँदै

बंगलादेशमा उत्कृष्ट र नाम चलेका कलेज पनि छन् । यस्ता कलेज निकै थोरै छन् । यी कलेजमा नेपाली विद्यार्थी नगन्य रुपमा मात्र पुग्ने गरेका छन् । तर, बंगलादेशका नराम्रा कलेजका कारण राम्रा कलेजमा पढेका विद्यार्थीसमेत बदनाम भइरहेका छन्।

अध्यक्ष यादव भन्छन्, ‘गुणस्तरहीन कलेजमा पढेकाहरूले उत्कृष्ट कलेजमा पढ्ने राम्रा डाक्टरी विद्यार्थीलाई बदनाम गराए ।’ उनका अनुसार बंगलादेशमा कमिसनका लोभमा धेरैभन्दा धेरै विद्यार्थी भर्ना गराउने कलेजले सबैलाई एउटै घानमा राखेर बंगलादेशमा पढेका सबै डाक्टर खत्तम छन् भन्ने सन्देश दिइरहेको छ।

विद्यार्थीको भविष्य बर्बाद बनाउने दलालहरूलाई कारबाही गर्नुपर्ने यादवले माग गरे।

सुरक्षा छैन, प्रहरीबाटै हैरानी

विद्यार्थीका अनुसार बंगलादेशमा सुरक्षाको समेत समस्या छ । विशेषगरी महिलाहरूलाई बढी सुरक्षाको खतरा रहेको विद्यार्थी बताउँछन् । होस्टल र कलेजको दुरी टाढा भएका कलेजमा अध्ययनरत छात्राहरू तीनपांग्रे सवारी अटोमा जानसमेत डराउँछन्। 

बंगलादेशका छात्रले विशेषगरी नेपाली छात्राहरूलाई बढी सताउने गरेको एक छात्राले जानकारी दिइन् । ‘मैले ४÷५ वटा कलेजका साथीहरूसँग बुझिसकेँ, सबैलाई उस्तै हैरान पार्ने रहेछन्,’ उनले भनिन्, ‘कलेजमै पढ्नेदेखि बाहिरका केटाहरू ल्याएर जिस्क्याएर हैरान बनाउँछन्।’

उनीसँगै पढेकी एक छात्राले प्रहरीमा उजुरी गर्दा पछि प्रहरीले नै फोन गरेर हैरान बनाएका रहेछन् । ‘सुरुमा त प्रहरीले उजुरी नै लिन मानेको थिएन,’ उनले भनिन्, ‘पछि कलेजबाट अरु साथीहरूले समेत प्रहरीमा गएर दबाब दिएपछि उजुरी त लिए तर उजुरी गर्दा नम्बर मागेको प्रहरीले उल्टै फोन गरेर हैरान बनायो ।’ उनका अनुसार प्रहरीले नै दुःख दिने भएपछि धेरै विद्यार्थी समस्या भए पनि उजुरी गर्न जाँदैनन्।

विद्यार्थीहरूका अनुसार मुस्लिम देश भएका कारण पनि नेपाली छात्राहरूले कुर्ता–सलवार लगाउँदा समेत धेरैले नराम्रो दृष्टिले हेर्ने गरेका छन् । एक नेपालीमाथि बलात्कारको घटनासमेत भएको थियो।

छात्राका घाँटीमा चक्कु, कलेजको उल्टै गाली

केही समयअघि बंगलादेशको सिल्हेटस्थित वुमन्स मेडिकल कलेजमा अध्ययनरत छात्राहरू सामान किन्न बजारमा निस्केको बेला अज्ञात समूहले एक नेपाली छात्राको घाँटीमा चक्कु राखेको थियो। बीच बजारमा छात्राको घाँटीमा चक्कु राखेपछि धेरैले विरोध गरेपछि अज्ञात व्यक्ति भागेको थियो । होस्टलको अनुमतिमा नै सामान किन्न बाहिर निस्केकी उनीमाथि सो घटनापछि कलेजले उल्टै गाली गरेको थियो । विद्यार्थीलाई सहानुभूति र सुरक्षा दिनुको सट्टा कलेजले झन् गाली गरेर मानसिक तनाव थपिएको उनी बताउँछिन्।

भिसाको समस्या

बंगलादेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई सुरुमा ६ महिनाको मात्र भिसा दिइन्छ । त्यसपछि पुनः भिसा अवधि थप गर्नुपर्छ । यसका लागि विद्यार्थीले प्रहरीको रिपोर्ट लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । यो प्रक्रिया पूरा गर्नै २ देखि ३ महिना लाग्छ । अध्ययनका लागि गएका विद्यार्थीलाई यो झन्झटिलो प्रक्रियाले थप समस्या पारिरहेको राजदूत डा भुसाल बताउँछन्।
‘वास्तवमै भिसाको समस्याले विद्यार्थीलाई दुःख दिइरहेको छ,’ उनले भने, ‘हामीले यो प्रक्रियालाई सहज बनाउन लागिरहेका छौं ।’ 

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नवीन यादवका अनुसार भिसाको प्रक्रियाका समयमा प्रहरी रिपोर्ट बनाउँदासमेत प्रहरीले पैसा माग्ने तथा अनावश्यक दुःख दिने गरेका छन् । ‘पैसा माग्ने मात्र होइन प्रहरीले भिसा प्रक्रियाका लागि रिपोर्ट बनाउन आएका छात्राहरूको मोबाइल नम्बर लिएर दुःखसमेत दिने गरेका छन्,’ उनले भने, ‘त्यसकारण अध्ययनका लागि आएका विद्यार्थीलाई कलेजको पत्रका आधारमा अध्ययन अवधिभरको भिसा दिने व्यवस्था गर्नुपर्छ।’ 

भिसासँगै बंगलादेशमा नेपालबाट पैसा पठाउन पनि निकै समस्या छ । विद्यार्थीलाई पकेट खर्च पठाउनसमेत बंगलादेशमा जाने मानिस खोजेर पठाउनुुपर्ने बाध्यता छ । मनी ट्रान्सफर तथा बैंकबाट पठाउने व्यवस्थाका लागि दूतावासले पहल गरिरहेको डा भुसाल बताउँछन्।

(ढाकाबाट फर्किएपछिको रिपोर्ट)
 


बंगलादेशका अधिकांश निजी मेडिकल कलेजमा पढ्नु बेकार : डा चोपलाल भुसाल [अन्तर्वार्ता]

'यहाँका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै नेपाली विद्यार्थी पढ्न आउनु नै गल्ती' (अन्तर्वार्ता)

प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्