काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहकार्यका लागि नेकपा एमालेसँग कुराकानी भइरहेको बताएका छन्। उनले आफूले विभाजन गरेको राप्रपासँग भने तत्कालै सहकार्य नहुने बताए।
'स्थानीय चुनावबाट पार्टीलाई खुट्टा टेकाउन सक्नेसम्म अवस्थामा हामी पुग्छौँ भन्ने लागेको छ। त्यसको निमित्त विभिन्न राजनीतिक दलहरुसँग सहकार्यको हामीले प्रयास गरेका छौँ। त्यसमध्ये नेकपा एमालेसँग हामीहरुको प्रारम्भिक चरणको कुराकानी भएको छ', मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने।
थापाको पार्टीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका लगायतका ठाउँमा एमालेसँग तालमेल गरेको थियो। मंगलबार पनि उनले राष्ट्रियता लगायतका विभिन्न सवालमा नेकपा एमालेसँग आफूहरु निकट रहेको महसुस गर्ने बताए।
गएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनका लागि एमालेले सघाएको थियो।
थापाले स्थानीय तहको निर्वाचनमा आफूहरुको त्यति ठूलो महत्त्वाकांक्षा नभएको प्रष्ट पारे। 'राप्रपा नेपाल स्थापना भएको करिब एक महिना आठ दिन भयो आज', उनले भने, 'त्यसैले हामीले धेरै ठूलो अपेक्षा गरेका छैनौँ।'
दोस्रो जनआन्दोलनयता राजसंस्थाको अजेन्डा बोकेर हिँडेका उनी राजसंस्थाप्रति सकारात्मक सुनिएनन्। पूर्वराजाले दलहरुको विकल्प राजसंस्था हो भन्ने आशयका साथ वक्तव्यहरु दिने गरेको उनले बताए।
'१५ वर्षको यो राजनीतिक अभ्यास र धरातलीय यथार्थलाई दृष्टिगत गर्दा अब राजसंस्थाको मुद्दा अत्यन्तै कमजोर भएर गयो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।