काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले अनसनरत डा गोविन्द केसीको मागको विषयमा तत्काल ठोस निर्णय लिन सरकारको ध्यानाकर्षण गराएको छ।
बारले बिहीबार विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोमा संवेदनशील बन्दै माग सम्बोधनतर्फ लाग्न आग्रह गरेको हो। महासचिव खम्बबहादुर खातीले जारी गरेको विज्ञप्तिमा केसीको माग सम्बोधनमा भइरहेको ढिलाइप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ।
निषेधाज्ञा खारेज गर
बारले माइतीघर मण्डला लगायका स्थानमा प्रदर्शन, जुलुस गर्न नपाइनेगरी सरकारले लगाएको निषेधाज्ञा हटाउन पनि आग्रह गरेको छ। बारको विज्ञप्तिमा उक्त निषेधाज्ञा विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने जनताको अधिकार विपरीत भएको उल्लेख छ। सरकारको उक्त निर्णय संविधान र कानुनको उल्लंघन भएकाले खारेज गर्न बारले माग गरेको छ।
बारले छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ।
अदालतप्रति टिप्पणी नगर्न आग्रह
सर्वोच्च अदालतको आदेश र फैसलाबारे दैनिक अनेक टिप्पणी आउन थालेको भन्दै बारले त्यसमा सचेत हुन सबैलाई आग्रह गरेको छ।
सर्वाेच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशमाथि विभिन्न टीका–टिप्पणी भइरहेको भन्दै बारले न्यायपालिकाको जनआस्था घट्ने कुरामा ख्याल गर्न आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।