काठमाडौं– फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।
श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई उनका काकाले कोसी नदीमा बगाउँदै गरेको फोटो सर्वोत्कृष्ट घोषित भएको हो।

यसैगरी अन्य सात विधामा विभिन्न फोटो पुरस्कृत भएको छ। दिपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने ‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन्। त्यस्तै, अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जितेका छन्। नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफ विधाको पुरस्कार श्रीराम खत्रीले पाए भने एक्सपेरियन्स नेपाल तथा कल्चर एन्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे।
त्यस्तै, डिसहोम एक्सन स्पोर्ट्स विधाको उपाधि प्रतीक रायमाझीले जित्दा नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो।
डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो। न्युज विधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए। नेचर एन्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो। कल्चर एन्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो दोस्रो तथा अजय मानन्धरको फोटो तेस्रो भयो।
यस्तै, एक्सन स्पोर्ट्समा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो। नेपाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो। त्यस्तै, फोटो स्टोरीमा हेमन्त श्रेष्ठकै फोटो दोस्रो तथा नरेन्द्र श्रेष्ठका फोटोहरु तेस्रो भयो।
वर्षको उत्कृष्ट फोटोका विजेता श्रेष्ठले नगद १ लाख रुपैयाँ पाएका छन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

वर्ल्ड प्रेस फोटोको निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटो पत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटोपत्रकार एवं क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी)का फोटोपत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक टोलीले विजेताहरु छनोट गरेको हो।
प्रतियोगितामा पुरस्कृत भएका फोटोहरु काठमाडौंमा आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिने भएको छ। काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने आयोजक फोटो पत्रकार क्लबले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।