मार्तडी– बाजुराको बडिमालिकामा नगरसभा चलिरहेको समयमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुखले राजनीतिक आस्थाका आधारमा बजेट विनियोजन गरेको आरोप लगाउँदै नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले माइन्युट नै खोसेका छन्।
नगरसभामा बजेट वितरण गर्दा जनसंख्या, भूगोल र स्थानीय आवश्यकताभन्दा राजनीतिक पूर्वाग्रहका आधारमा वितरण गरेको भन्दै २, ३, ४, ७ र ९ का वडा अध्यक्षहरुले माइन्युट नियन्त्रणमा लिएका हुन्। घटनापछि उनीहरुले सामूहिक विज्ञप्ति जारी गर्दै नगर प्रमुख पदमप्रसाद बडुवालले भेदभाव गर्दै एकलौटी रुपमा बजेट वितरण गरेकाले बाध्य भएर माइन्युट खोस्नुपरेको तर्क गरेका छन्।
नेकपाबाट निर्वाचित वडाध्यक्षहरु डम्बर महत, विनोदकुमार विक, वीरबहादुर रावल, धर्मराज पाध्याय र सुरेन्द्र नाथले नगरसभामा बजेट फाइल नियन्त्रणमा लिएका हुन्।
उनीहरुले जारी गरेको विज्ञप्तिमा पाँचबुँदे असहमति समेत उल्लेख गरेका छन्। वडा कार्यालयको दैनिक कार्य सञ्चालनका लागि कुनै पनि सामग्री लिन नगरपालिका पुग्नुपर्ने बाध्यता रहेको, अधिकारक्षेत्र मिचेर काम–कारबाही गरेको र बस्तीस्तरीय योजना मार्फत छनोट भएका योजनाहरुलाई बजेट विनियोजन नगरेको आरोप उनीहरुले लगाएका छन्।
नौ वटा वडा रहेको बडिमालिका गाउँपालिकामा ४ वटा वडामा कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।