काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सा शिक्षा विधेयक पहिलेकै स्वरुपमा पारित गर्नुपर्ने माग राखी अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगका प्रवक्ता मोहना अन्सारीले बिहीबार जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्य उपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवनरक्षा गर्न माग गरिएको छ।
विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न/नगराउन समेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
डा केसी जुम्लामा गत असार १६ गतेदेखि अनसनरत छन्। आयोगले डा केसीलाई अनसनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचार समेत गरेको थियो।
त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरि अर्यालले एक प्रेस विज्ञप्ति जारी गरी डा केसीको माग पूरा गरी जीवनरक्षा गर्न माग गरेका छन्।
यसैबीच डा केसीको उपचारका लागि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट डा जीवन थापा र डा सुभाष सुवेदीको टोली बिहीबार बिहान जुम्लातर्फ गइसकेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।