धनगढी– कैलालीको लम्की–चुहा नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार राति ९ बजे लम्की–२, प्रतापपुरका ३३ वर्षीय इन्द्र चौधरीले ३२ वर्षीय श्रीमती गर्भा चौधरीलाई कुटपिट गरेका थिए।
कुटपिटबाट मृत्यु भएपछि इन्द्रले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए।
बिहीबार बिहान मात्रै घटनाको बारेमा वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए।
मृतकका छोराछोरीसँग बुझ्दा राति बुवाले रक्सी खाएर आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए।
लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुनसक्ने देखिएको घिमिरेको भनाइ छ।
मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।