काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति जनाए।
गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीलाई अधिनायकवादीको आरोप लगाएका थिए। गृहमन्त्री थापाको सो अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको अध्यक्ष राणाको तर्क छ। उनले ‘जनताको पक्षमा समर्पणभावका साथ अघि बढ्ने डाक्टर केसी कसरी अधिनायकवादी भए?’ भन्दै सरकारलाई प्रश्न गरे।
बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरिरहेको आरोपसमेत लगाए।
अध्यक्ष राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।