काठमाडौं- नेपाली कांग्रेसले मन्त्रिपरिषदले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकोमा निन्दा गरेको छ।
कांग्रेसले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
संसदबाट निर्वाचित प्रधानमन्त्रीले कानुनसम्मत तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानुनी व्यवस्थाको खिलापमा भएको तर्क गर्दै उसले सरकारी निर्णयको निन्दा गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भइसकेको अवस्थामा तत्कालीन देउवा सरकारले आयोगकै सहमतिमा आवश्यक नियुक्ति गरेको भन्दै बचाउ गरिएको छ।
नियुक्तिहरु खारेज गर्ने सरकारको कदमलाई कांग्रेसले 'कानुनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय' भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।