भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा २ दिने राष्ट्रिय युवा सम्मेलन हुने भएको छ।
‘शान्ति र विकासका लागि युवा नेतृत्व’ भन्ने नारासहित असार २२ र २३ गते देशका ७७ जिल्लाकै प्रतिनिधिको सहभागितामा सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरबाट २ सयभन्दा बढी युवायुवतीको सहभागिता हुने आयोजकले जनाएको छ।
ग्रिन युथ अफ लुम्बिनीको आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिका एवं लुम्बिनी विकास कोषको सहआयोजनामा हुने सम्मेलनमा विभिन्न एजेण्डामा छलफल हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए।
सहभागी युवाहरुलाई युवा र आविष्कार, युवा संवेदना, उत्प्रेरणा र उद्यम, सरकारमा युवाहरुको सक्रियता, नेतृत्व तथा अन्तर्राष्ट्रिय साझेदारी लगायतका विषयमा चर्चा गरिने अध्यक्ष कुर्मीले बताए।
सम्मेलनमा महावीर पुन, कर्ण शाक्य, मुक्ति सुवेदी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी मैत्रेय, नगर प्रमुख मनमोहन चौधरी लगायतले अनुभव सुनाउने कार्यक्रम छ। सहभागी युवाहरुलाई लुम्बिनीका विभिन्न बिहारमा राखी अध्यात्म र योगबारे पनि जानकारी दिँदै लुम्बिनीको प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ।
सम्मेलनमा सहभागी युवाहरुलाई देशप्रति सकारात्मक भावना जगाई देश निर्माणमा उत्तरदायी बनाउन कार्यक्रमले सहयोग गर्ने अपेक्षा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए।
२०७० सालमा स्थापित ग्रिन युथ अफ लुम्बिनीले पहिलो पटक सम्मेलन आयोजना गरेको र अबदेखि हरेक वर्ष गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।