काठमाडौं– नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ।
तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित समितिको आठौं बैठक बसेको हो। बैठकले तातोपानी नाका आगामी कात्तिकभित्र खुलाइसक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायतका निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए।
दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल हुनेछ।
बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय गर्नेछ। साथै, बैठकमा नेपालको उद्यम विकासका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि छलफल हुने सह–सचिव सैंजुले जानकारी दिए।
नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।