राजविराज– विद्यार्थी भर्ना अभियानको गलत तथ्यांकका कारण शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख तथा कर्मचारीले बुधवार प्रदेशमन्त्रीवाट खप्की खानुपरेको छ।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरानो मानसिकताबाट बाहिर निस्कन र समस्या समाधानका लागि ठोस काम गर्न इकाई प्रमुख तथा कर्मचारीलाई निर्देशन दिए।
‘विद्यार्थी भर्ना विशेष अभियान’ सञ्चालनको तयारीका लागि आयोजित अन्तरक्रियामा इकाइले प्रस्तुत गरेको तथ्यांक ‘वाहियात’ भएको भन्दै मन्त्री साहले समस्याको पहिचान गरी समाधानका लागि ठोस काम गर्न निर्देशन दिए।
‘वाहियात डाटा देखाएर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘कुन ठाउँमा, कसको छोराछोरी विद्यालयमा भर्ना छैनन्? त्यो ल्याउनोस्।’ स्थानीय सरकारले नसके अभियानमा प्रदेश सरकारले पनि पनि सहयोग गर्ने भन्दै उनले गलत तथ्यांकमा नखेल्न सुझाव पनि दिए।
इकाइ उपप्रमुख रामदेव चौधरीले विद्यालयबाहिर रहेका कुल २३ हजार ३ सय ७५ बालबालिकामध्ये पहिलो चरणमा १८ हजार ४ सय ५२ बालबालिका भर्ना भएको र बाँकी बालबालिकाका लागि दोस्रो चरणको अभियान सञ्चालन गर्न लागिएको तथ्यांक प्रस्तुत गरेका थिए।
जसमध्ये १४ हजार ४ सय १४ सामुदायिक विद्यालय र ४ हजार ३८ बालबालिका निजी विद्यालयमा भर्ना भएको इकाई प्रमुख शंकरराज लुइँटेलले बताए। पहिलो चरणको अभियान पूर्व १३ हजार ४ सय ४१ बालबालिका मात्रै विद्यालयबाहिर रहेको देखाएको थियो।
करिब ५ हजार बालबालिका विद्यालयबाहिर रहेको अनुमान गरिए पनि वास्तविक तथ्यांक आफूहरुसँग पनि नभएको प्रमुख लुइँटेलले स्विकार गरे। ‘कति बालबालिका विद्यालय भर्ना भएका छैनन् हामी पनि पत्ता लगाउने क्रममै छौं,’ लुइँटेलले भने, ‘घरधुरी सर्वेक्षणपछि मात्रै हामीले पनि सही तथ्यांक बताउने हो।’
लुइँटेलले विद्यालयले बुझाउनुपर्ने रिपोर्ट समयमा नबुझाएका कारण तथ्यांक गलत भएको स्पष्टीकरण दिए।
कार्यक्रममा ‘विद्यार्थी भर्ना विशेष अभियान’ का लागि भदौ ३१ गतेसम्मको कार्ययोजनासमेत सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।