म्याग्दी- बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन्।
अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि (इन्द्रबहादुर) खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली बेपत्ता भएका थिए।
वर्षाका कारण पानीको बहाव बढेका कारण दुवैजनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुमान गरिएको थियो। तर दुर्घटना भएको ६ दिनपछि बुधबार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन्।
दुर्घटनाको एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। दुर्घटना भएको यति धेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिए।
दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात् दुर्घटनामा परेपछि आफू खोलामा उछिट्टिएको र पौडी खेलेर बाहिर निस्कन सफल भएको बयान दिएका छन्। तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।