तेह्रथुम- हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ ।
वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन्। ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ।
जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताए। हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्त डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उनको भनाइ छ।
साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ। गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन्। ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताए।
पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको छ। व्यवसायीले मनपरी शुल्क लिएर किनबेच गरिरहेका उपभोक्ताको गुनासो छ । पेट्रोलियम पदार्थको अभावको मौका छोपेर ग्रामीण सडकमा गुड्ने गाडीले महँगो भाडासमेत उठाउने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।