इटहरी- नेपाली कांग्रेसका नगरसभा सदस्यहरूले बजेट पारित गर्न बसेको इटहरी उपमहानगरपालिकाको बैठक बहिस्कार गरेका छन्। आव २०७५/७६ को बजेट पारित गर्न बुधबार बसेको नगरसभा बैठक एकलौटी रूपमा बजेट पारित गर्न खोजिएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो।
पत्रकार सम्मेलन आयोजना गरी बजेटबारेको उक्त पार्टीले असन्तुष्टि सार्वजनिक गरेको हो।
गत असार १० मा पेस भएको बजेटका विषयमा कार्यपालिकामा छलफल गर्दा बजेट बढाउने विषयमा सहमति भएको तर बजेट बढे पनि अनियन्त्रित रूपमा बजेट पेस भएकोले बहिस्कार गरेको कांग्रेस संसदीय दलका नेता मणिराम श्रेष्ठले जानकारी दिए। अघिल्लो पटक १ अर्ब ३७ करोड बराबरको बजेट पेस भए पनि बुधबारको बैठकमा १ अर्ब ५० करोड ८९ लाख ४ हजार बजेट पेस भएको हो।
बजेटमा समावेश हुनुपर्ने योजना समावेश नभएको र योजनै नभएको ठाउँमा बजेट पारिएको भन्दै यो बजेट अमान्य भएको उनको भनाइ छ।
बजेटविरुद्ध कांग्रेस लगायत तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी वडा नं १० का वडा सदस्य रामनारायण चौधरी पनि असन्तुष्ट छन्। बजेट समानुपातिक रूपमा वितरण नभएको चौधरीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।