हेटौँडा- प्रदेश नं ३ को बुधबारको प्रदेशसभा बैठकमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सदस्यहरुले सुझाव दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेपछि छलफलमा यस्तो धारणा आएको हो। बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उनीहरुले माग गरेका छन्।
सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्ट लगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजस्व वृद्धि गर्न सुझाए।
विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणालीमार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सीमार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उनीहरुको सुझाव थियो ।
सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयकमाथिको छलफलमा भाग लिभएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।