रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, सिम्बुमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। ज्यान जानेमा मोरङका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्ती मगर रहेका छन्।
सान्जेन जलविद्युत आयोजनाअन्तर्गत खण्ड २ को निर्माण कम्पनी एसइडब्लु टुन्डी कन्स्ट्रक्सनको बा१७च ४३४५ नम्बरको बोलेरो जीप तिलोचेबाट आयोजनाको रासायनिक पदार्थ लिएर फर्किने क्रममा मंगलबार राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घाइते हुनेमा मोरङ जिल्लाका २४ वर्षका गौतम अर्याल र सुनसरी जिल्लाका २२ वर्षका जीवन राई रहेका छन्। घाइतेको जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपश्चात् काठमाडौं पठाइएको छ।
जीप चालक धादिङका प्रकास तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।