काठमाडौं– निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरेर राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरेको छ। उक्त आचारसंहितामा सुरक्षा निकायले समेत पालना गर्नुपर्ने केही प्रावधानहरु राखिएको छ।
जसअनुसार वार्षिक बजेट बाहेक अन्य किसिमका नयाँ कार्यक्रम, नयाँ नीति, योजना घोषणा गर्न नपाइने, शिलान्यास तथा उद्घाटनाका कामहरु गर्न सुरक्षा निकायलाई बन्देज लगाइएको छ।
त्यस्तै, नयाँ पद सिर्जना, रिक्त पूर्तिलगायतका काम बन्द लगाइएको छ। तर, आयोगलाई जानकारी गराई लोकसेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाद्वारा हुने नियमति पदपूर्तिका लागि बाधा नपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना प्रचारप्रसार गर्न तथा सामग्री पोस्ट गर्न, श्यर गर्न नपाइने पनि उल्लेख गरिएको छ। आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पनि बन्द गरिएको छ।
कुनै पनि राजनीतिक दललाई आफ्नो कार्यालय भवन, अतिथिगृह सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न नदिन आचारसंहितामा उल्लेख गरिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।