महेन्द्रनगर– स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण गरिएका छन्। मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन्। यसअघि ३३० मतदान केन्द्र रहेका थिए।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ।
मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ। ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ,’ कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको विवरण संकलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइनेछ।’
एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए। तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइनेछ।
अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको उनले बताए। नया थपिएका १९ हजार ८०० सहित यहाँ दुई लाख ९७ हजार ३४१ मतदाता रहेका छन्। निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मंसिरयता दुई पटक नामावली संकलनको कार्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।