काठमाडौं– इंग्लिस फुटबल टिमका कप्तान ह्यारी केनले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाविरुद्ध गोल गर्दै कीर्तिमान बनाएका छन्।
उनले खेलको ५७ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा जारी विश्वकपमा उनी छैटौं गोल गर्न सफल भए। सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका केनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन्। लुकाकुले ४ गोल गरेका छन्। ४ गोल गरेका अर्का खेलाडी क्रिस्टियानो रोनाल्ड भने घर फर्किसकेका छन्।
विश्वकमा छैटौं गोल गरेसँगै केनले एकै विश्वकपमा बढी गोल गर्ने इंग्लिस खेलाडीको रेकर्ड बराबरी गरेका छन्। यसअघि सन् १९८६ को मा ग्यारी लिनेकेरले इंग्ल्यान्डका लागि ६ गोल गरेका थिए।

केन विश्वकपका गोल्डेन बुट जित्ने दोस्रो इंग्लिस खेलाडी हुने अर्को कीर्तिमानको नजिक छन्। लिनेकर विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो इंग्लिस खेलाडी हुन्।
विश्वकपको ३ खेलमा बढी गोल गर्ने केन तेस्रो खेलाडी बनेका छन्। यसअघि हंगेरीका सान्दोर कोक्सीसले विश्वकपका सुरुवाती ३ खेलमा ९ गोल र अर्जेन्टिनाका गुइलेर्मो स्टाबिनले ७ गोल गरेका थिए।
यस्तै केन सन् १९३९ पछि विश्वकपमा आफूले खेलेका ३ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। केनले इंग्ल्यान्डका लागि पछिल्ला १० खेलमा १४ गोल गरिसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।