बाजुरा– प्रदेश ७ को कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन्।
बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक/एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको झलारीबाट उन्नत जातका २० गाई र महेन्द्रनगरबाट ७० गाई गरी बडीमालिका नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका किसानलाई वितरण गरिएको हो। गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताए।
बजारमा छाडा छोडिएका गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको र साेहीअनुसार नै व्यवस्थापन गरिएकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए।
उनले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताए। आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई उन्नत जातका गाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाइ छ।
कञ्चनपुरबाट ल्याइएका ९० गाईको निःशुल्क रुपमा पशु शाखाले पशु बीमा गर्ने सिंहले बताए। आगामी वर्ष पनि आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए।
नगरपालिकाअन्तर्गत रहेको शाखाले भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।