काठमाडौं– इंग्ल्यान्डले विश्वकपमा पहिलोपटक पेनाल्टी सुटआउटमा जित हात पारेको छ। २०१८ फिफा विश्वकपको अन्तिम १६ को खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेर क्वार्टरफाइनलमा स्थान पक्का गरेसँगै इंग्ल्यान्डले कीर्तिमानी जित हात पारेको हो।
यसअघि इंग्ल्यान्ड विश्वकपका तीन पेनाल्टी सुटआउटमा पराजित भएको थियो। यस्तै इंग्ल्यान्डले ठूला प्रतियोगितामा २२ वर्षपछि जित हात पारेको हो। सन् १९९६ को युरोकपमा स्पेनलाई पराजित गरेपछि इंग्ल्यान्ड ठूला प्रतियोगिताको पाँच पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
विश्वकप र युरोकप गरी ७ पटक पेनाल्टी सुटआउटमा निर्णय हुँदा इंल्यान्ड ६ पटक पराजित भएको थियो।
बुधबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि इरिक डिएर, केइरन ट्रिपियर, मार्कोस रास्फोड र ह्यारी कानेले पेनाल्टीमा गोल गरे। तर जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपरले रोके।
कोलम्बियाका लागि लुइस मुरियल, जुवान काउडार्डो र राडामेल फाल्काओले पेनाल्टीमा गोल गरे। तर कोर्लोस बाका र मार्टिउस उरुबेको प्रहारलाई इंल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके। २ पेनाल्टी रोकेसँगै पिकफोर्डले देशको खराब इतिहास अन्त्य गर्न सफल भए।
विश्वकप र युरोकपमा इंग्ल्यान्डको पेनाल्टी सुटआउट
सन् १९९० जर्मनीसँग पराजित (विश्वकप)
सन् १९९६ मा स्पेनसँग जित (युरोकप)
सन् १९९६ मा जर्मनीसँग पराजित (युरोकप)
सन् १९९८ मा अर्जेन्टिनासँग पराजित (विश्वकप)
सन् २००४ पोर्चुगसँग पराजित (युरोकप)
सन् २००६ पोर्चुगसँग पराजित (विश्वकप)
सन् २०१२ इटालीसँग पराजित (युरोकप)
सन् २०१८ कोलम्बियासँग जित (विश्वकप)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।