जेनेभा– यमनमा भएको द्वन्द्वका कारण हालसम्म २ हजार २ सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा ३ वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ।
द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ।
‘अहिले चलिरहेको द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेको छ,’ राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले भनिन्। द्वन्द्वग्रस्त मुलुकको स्थलगत अवलोकन गरी उनी हालै मात्र जेनेभा फर्किएकी हुन्।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै १० हजार जना मारिएका छन्। यमनमा सन् २०१५ देखि यो द्वन्द्व सुरु भएको हो।
द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
‘यो त हामीले पहिचान गर्न र भेट्टाउन सकिएको तथ्यांक मात्रै हो, मृत्यु हुने, घाइते हुने र पीडित हुने बालबालिकाको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्छ,’ युनिसेफका कार्यकारी निर्देशक पmोरले भनिन्।
यति धेरै मान्छे मारिएको, घाइते भएको र प्रभावित भएको द्वन्द्वको अहिलेसम्म कुनै औचित्य नदेखिएको पनि उनको भनाइ छ।
द्वन्द्वका कारण धेरै बालबालिका विद्यालय जान नसकेको विषयमा पनि उनले सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको पत्रकारहरूलाई जानकारी दिइन्।
बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।