काठमाडौं- पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अन्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ।
चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजना अन्तर्गत अन्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो। कलंकी चोकमा निर्माण भइरहेको ८ सय मिटर लामो चार लेनको अन्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४ सय मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ।
साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरण गर्ने तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए। कोटेश्वर–बल्खुपुल–कलंकी १० दशमलब चार किलोमिटर सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ। नौ किलोमिटरको काम सम्पन्न भई एक दशमलब चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ।
यसअघि आयोजनाले असार दोस्रो सातामै अन्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो।
चीन सरकारको २१ करोड २० लाख युआन (नेपाली करिब पाँच अर्ब रुपैयाँ) अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भइरहेको छ। निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ।
दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलब पाँच किलोमिटर सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ। यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइप लगायत अस्थायी संरचना हटाउने काम सुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए।
साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ। चीन सरकारले नै डिजाइन तयारी गरिरहेको र त्यस लगत्तै काम सुरु हुने जनाइएको छ। यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग दिनेछ।
२८ किलोमिटर चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।