काठमाडौं- प्रतिकूल मौसमका कारण हुम्लाको हिल्सामा अलपत्र परेका भारतीय तीर्थयात्रीको तीन दिनपछि उद्धार थालिएको छ।
नेपालगन्ज-हिल्सा हुँदै तीब्बतको कैलाश मानसरोबर दर्शन गर्न गएका तीर्थयात्री प्रतिकूल मौसमका कारण हुम्लाको सिमीकोट र हिल्सामा रोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आज सिमीकोटबाट १ सय ६० जनालाई नेपालगन्ज ल्याइएको छ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजलाई 'मेन्सन' गरेको ट्विटमा मौसमका कारण हवाइ उडान रद्द भएको ३ दिनपछि आज सिमीकोट विमानस्थलबाट तीर्थयात्रीलाई नेपालगन्ज ल्याइएको जनाएका छन्।

उनले १० वटा उडानबाट १ सय ६० जनालाई नेपालगन्ज उतारेको जनाएका छन्। यस्तै, हिल्सामा फसेका २ सय ५० तीर्थयात्रीलाई हेलिकोप्टरबाट सिमीकोट ल्याइएको मन्त्री अधिकारीले जनाएका छन्। उनले भोलि पनि हवाइ उद्धार नियमित राख्ने जनाउँदै सिमीकोटमा रहेका ७ सय यात्रीलाई नेपालगन्ज ल्याउने जनाएका छन्।
यसअघि नेपालस्थित भारतीय दूतावासले १५ सयभन्दा बढी भारतीय नागरिक सिमीकोट, हिल्सा र तिब्बत क्षेत्रमा अलपत्र परेको जनाएको थियो।
मौसमी प्रतिकूलताका कारण हुम्लाको सिमीकोटमा ५ सय २५, हिल्सामा ५ सय ५० र तिब्बतीय क्षेत्रमा ५ सयभन्दा बढी नागरिक समस्यामा परेको भारतीय दूतावासले विज्ञप्ति मार्फत जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।