काठमाडौं- स्विडेन २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रिक्वार्टरफाइनलको खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।
योसँगै स्विडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन।
अब स्विडेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड वा कोलम्बिया मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको ६६ मिनेटमा स्विडेनले अग्रता लिएको थियो। इमिल फोर्सवर्गले हानेको प्रहार डिफ्लेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो। फोर्सवर्गको प्रहार स्विजरल्यान्डका डिफेन्डर म्यायुनयल एकान्जीको खुट्टामा लागेर छिर्दा स्विट्जरल्यान्डका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।
त्यसपछि स्विट्जरल्यान्डले स्विडेनमाथि लगातार दबाव बनाएपनि फिनिसिङमा पटक-पटक चुकेको थियो। अन्तिम मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बन्यो। इन्जुरी टाइमको तेस्रो मिनेटमा डिफेन्डर लाङलाई रेफ्रीले सिधा रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। स्विडेनले काउन्टरमा बल अघि बढाइरहेको बेला उनले फल गरेका थिए।
खेल विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।