ललितपुर– सदर चिडियाखानामा रहेका गोहीलाई आगन्तुकले अब सफा देख्न पाउने भएका छन्।
स्वचालित साधनको प्रयोग गरेर गोही सफा बनाउन लागिएको चिडियाखानाले जनाएको छ। स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा बढाउने सहायक निरीक्षक गणेश कोइरालाले बताए। उनले भने,‘पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ। खोर सफा हुँदा आगन्तुक थप आकर्षित हुन्छन्।’
‘खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि सुरु भएको हो। काम झण्डै अन्तिम चरणमा पुगेको छ।’, उनले भने, ‘दुई चार दिनमा नै त्यो सञ्चालनमा आउनेछ।’
चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो। यसअघि खोर नजीक जाँदा गोही हिलोमा डुबेको देखिन्थ्यो। उनले भने,‘यसले गर्दा गोही जुनसुकै समयमा सफा भइरहनेछ।’
राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन्। कतिपय खोरको मर्मत वा पुनःनिर्माण र कतिको क्षेत्रफल बढाउने जस्ता काम भइरहेका छन्। बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएयता वर्षेनी सुधारका काम गरिरहेको छ।
चिडियाखानामा अहिले एक सय २४ प्रजातिका ८ सय ३७ जनावर छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।