बुटवल– भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ।
खासगरी सैनामैना नगरपालिकामा केहीदिनयता पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन्।
सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ। पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको जिकिर गरे।
उनले भने,‘पेट्रोलियम पदार्थको चरम अभाव नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको हो।’
कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १ सय ५० वटा ट्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएको जानकारी दिँदै दैनिक रुपन्देहीमा ७ लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताए।
लुम्बिनी डिजेल सेन्टरका सञ्चालक प्रेम वाग्लेले यो समयमा माग बढी हुने भएकाले सबै ठाउँमा अभाव देखिएको तर्क गरे। सैनामैनामा एकआध पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आएपनि अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ छैन भन्ने सूचना टाँस गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।