काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। गत जेठ १५ गतेबाट आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६औं दिनमा आइपुग्दा थप बिग्रिएको छ।
मंगलवार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि वीर अस्पताल पुगेका नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएका छन्। शरीर सुन्निदा हातको नसा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ।
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन अनसनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता वरिष्ठ नेता पौडेलको भनाइ छ। उनले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइबीलाई छानविन गर्न नसक्दा रातो झन्डा ओढेर सबै अपराध माफ हुने अराजकता बढेको बताए। अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवीयता गुमाउँदै गएको उनले टिप्पणी गरे।
‘रातो झन्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ। छोराको हत्यालाई कारबाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो। गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ,' उनले भने।
२०७२ पुस ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याबिन नम्बर ७ मा आमरण अनसनमा बसेकी थिइन्। छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन थालेको बताएकी थिइन्।
अधिकारी दम्पत्तीका कान्छा छोरा कृष्णप्रसादलाई २०६१ जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए। छोराका हत्यारालाई कारबाहीको माग राखेर अनसनमा बसेका गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको ३ सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।