कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत छ। नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो।
आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ। नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ।
पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ। नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन्। पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ।
लगातार तीन दिनदेखिको पानीले महाकाली नदीमा सतह बढेपछि किनारका बस्तीमा त्रास फैलिएको छ।
२०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो। पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताए।
महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ। महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन्। महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताइन्।
नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ।
पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।