काठमाडौं– 'नेइमारले ब्राजिललाई अघि बढाए, तर दुनियाँलाई पारे हैरान' शीर्षकमा ब्राजिलियन पत्रिका ग्लोबोले मंगलबार समाचार प्रकाशित गरेको छ। स्टार खेलाडी नेइमारले विश्वकपमा देखाएको अनावश्यक 'हाउभाउ र अभिनय'काे आलोचना भइरहेको बेला ब्राजिलको पत्रिकाले यस्तो समाचार प्रकाशित गरेको हो।
खेलका दौरान धेरै लडेपछि नेइमारको विषयमा अहिले संसारभर अनेक 'ट्रोल' बनिरहेका छन्।
अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो घर फर्किएसँगै नेइमार जारी विश्वकप फुटबलमा खेलिरहेका अनुभवी र स्टार खेलाडी हुन्।
उनकै उत्कृष्ट प्रदर्शनमा मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएको छ। तर पनि विश्वभर नेइमारको विषयमा टिकाटिप्पणी भइरहेका छन्।
मेक्सिको विरुद्धको खेलको दोस्रो हाफमा नेइमार गम्भीर घाइते भएकोझैं गरी मैदानमै ढलेका थिए। मेक्सिकोका फुलब्याक मिग्युल लियुनले नेइमारको गोलीगाँठीमा कुल्चिएका थिए। लगत्तै नेइमार हात मैदानमा हात बजार्दै कराउन थाले। त्यसपछि ब्राजिल तथा मेक्सिकोका खेलाडी नेइमार गम्भीर घाइते भएको आशंका गर्दै उनी नजिक आए। मुख्य रेफ्रीलगायत सबै अफिसियलले नेइमारको पिडाको विषयमा सोधे। केहिबेर पछि नेइमार 'घाइते नै नभएको झैं' गरी उठे। भिडियो रिप्लेमा पनि नेइमारमाथि कुनै गम्भीर फल नभएको देखिएको थियो।
खेलमा यस्ता घटना धेरै भए। तर महत्वपूर्ण कुरा मेक्सिकोलाई पराजित गर्दै ब्राजिल अन्तिम ८ मा पुग्न सफल भयो।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध २६ वर्षीय स्ट्राइकर नेइमार खेलको म्यान अफ दि म्याच चुनिए। उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराएका थिए।
खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई लक्षित गरी मेक्सिकोका खेलाडी मैदानमा उत्रिएको आरोप लगाए।
नेइमारले पनि विपक्षी खेलाडीको उद्देश्य बढी फल गर्ने भएको दाबी गरे।
तर नेइमारले आलोचनालाई वास्ता नगर्ने बताए। 'अलोचना र प्रशंसाको मैले वास्ता गरेको छैन। जसले गर्दा दृष्टिकोणमा फरक पार्छ। मैले पछिल्ला दुई खेलमा मिडियासँग कुरा गर्न पनि चाहेको थिइन,' नेइमारले भने, 'म खेलेरै टिम र सहकर्मीलाई सहयोग गर्न चाहान्छु।'
यता मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले नेइमारको व्यवहार लाजमर्दो भएको टिप्पणाी गरे। उनले भने,'यो फुटबलका लागि लाजमर्दो कुरा हो। खेलको नाकारात्मक कुराको उदाहारण हो। एक खेलाडीका कारणले हामीले धेरै सयम गुमायौं।'
एस्टन भिल्लाका स्ट्राकर डियोन डब्लिनले पनि नेइमारले देखाएको व्यवहारले दुखित बनाएको बताए। 'उनी संसारका उत्कृष्ट खेलाडी हुन्। तर मैदानमा लडिबुडी गरेको देख्दा त्यस्तो लाग्दैन,' उनले नेइमारलाई सुझाव दिँदै भने, 'कमन योङ म्यान, तिमी उत्कृष्ट खेलाडी हौ। खेलमा केन्द्रित हाेउ।'
जारी विश्वकपमा नेइमार गोलका लागि सर्वाधिक प्रहार गर्ने खेलाडी हुन्। उनले हालसम्म २३ प्रहार गर्दा १२ प्रहार त पोस्टमै हानेका छन्। गोलका लागि अवसर निकाल्ने खेलाडीको सूचीमा पनि नेइमार पहिलो स्थानमा छन्। उनले ४ खेलमा गोलका लागि १६ अवसर सिर्जना छन्। यस्तै नेइमारले जारी विश्वकपमा बढी ४० ड्रिबल्स गरिसकेका छन्। अर्कोतर्फ नेइमार जारी विश्वमा बढी फल बेहोरेका खेलाडी पनि हुन्। अहिलेसम्म उनीमाथि २३ फल भइसकेको छ।

नेइमारले मेक्सिकोविरुद्ध गरेको गोल विश्वकपमा छैटौं गोल हो। उनले ३८अाैं प्रयासमा ६ गोल गरेका हुन्। विश्वकपमा ६ गोल गर्न मेसीले ६७ प्रहार र रोनाल्डोले ७४ प्रहार गरेका थिए।
विश्वकपमा आफ्नो क्षमता देखाएका नेइमारमाथि व्यंग्य गर्दै 'ट्रोल' बन्ने क्रम जारी छ। उनी समूह चरणमा मैदानमा लड्दा नाटकीय रुपमा गुडेको तस्बिर संसारभर 'भाइरल' भएको थियो। पछिल्लाे समय नेइमारका व्यवहारले उनको प्रतिभा ओझेलमा पर्ने विश्लेषण गर्न थालिएको छ। किनकी अहिले उनकाे क्षमताभन्दा पनि मैदानमा देखाएका क्रियाकालप चर्चाको विषय बनिरहेको छ।

समूह चरणमा कोस्टारिका विरुद्धको खेलमा फलको विषयमा कुरा गर्ने क्रममा रेफ्रीले नेइमारको काँधमा हात राखेका थिए। तर नेइमारले तत्काल हात हटाइदिए र 'मलाई नछोउ' भन्ने संकेत दिए। खेलको अन्तिम मिनेटमा गोल गरेपछि उनले जारी विश्वकपमा पहिलो गोल गर्न सफल भएका थिए। खेलपछि नेइमार भावुक बन्दै आँसु झारेका थिए।
समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग गोल खाएपछि खेलमा सुधार ल्याएको ब्राजिल लगातार आठौं पटक विश्वकपकाे क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ब्राजिलको अबको यात्रा नेइमार जस्ता स्टार खेलाडीको उच्च प्रदर्शनमा भर पर्छ, न की उनको 'अनावश्यक' हाउभाउमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।