दार्चुला– लगातार तीन दिनदेखिको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेसँगै नदी किनारका बस्तीमा त्रास फैलिएको छ।
२०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो। पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ। नदीमा पानीको तह सोमबार बिहान ४ मिटर ९ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर ३ मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताए। तर फेरि पानी पर्न सुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको उनको भनाइ छ।
महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ। महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन्। महाकाली नदीको बाढी बस्तीमा पस्छ की भन्दै रातभर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताइन्।
नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ। पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिए।
लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ। लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ। भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरोका कारण अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ।
नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने हुँदा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको छ।
यसैबीच, लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ। दार्चुला—तिंकर सडकखण्डअन्तर्गत श्रीबगड, राताकाठा सडक खण्डको दुई÷तीन स्थानमा माथिबाट पहिरो खस्दा मान्छे हिँड्न नमिल्ने गरी सडक भत्किएको छ।
अवरुद्ध सडक स्थानीयले ट्र्याक्टर प्रयोग गरी खुलाएको भए पनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको हो। भारी वर्षाका कारण ग्रामीण भेगका बाटो–घाटोसमेत भत्किएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।