इनरुवा– पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतक ६ जनामध्ये २ जनाको मात्र नाम खुलेको र बाँकी ४ जनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमा र ३ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका ३ जनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।