क्वालालम्पुर– मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।
इन्डोनेसियाबाट गैरकानुनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।
इन्डोनेसियाको बाटामबाट आइतबार राती मलेसियातर्फ आएको डुङ्गामा ४४ जना यात्रु सवार थिए। डुङ्गाका यात्रुमध्ये २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
‘अहिलेसम्म हराइरहेका मध्ये १८ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ,’ एक उच्च अधिकारीले भने।
प्रारम्भिक विवरण अनुसार क्षमताभन्दा बढी यात्रु ल्याएको र खराब मौसमका कारण डुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ।
डुङ्गा दुर्घटना भएको ठाउँको १ सय ५० वर्गमिटर क्षेत्रमा खोजी कार्य जारी राखिएको छ। खोजी तथा उद्धारका लागि सरकारका विभिन्न निकायका १ सय ५० जना अधिकारीहरू, सात डुङ्गा र पानीजहाज तथा हेलिकोप्टर पनि परिचालन गरिएको छ।
काम खोज्दै इन्डोनेसियाका अवैध आप्रवासीहरू बेलाबेलामा यसैगरी मलेसिया जाने गर्दछन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।