काठमाडौं– न्याय परिषद्बाट सिफारिस भएका २२ जना जिल्ला न्यायाधीशलाई सोमबार पद तथा गोपनियताको शपथ गराइएको छ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई संविधानबमोजिम शपथ खुवाए। नेपाल न्याय सेवाका उपसचिव वा सोसरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत न्यायाधीशहरु संविधानको धारा १४९ को उपधारा (१) बमोजिम बढुवा भइ जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन्।
न्याय परिषद्काे गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष सिफारिस गरेको थियो। शपथ ग्रहण गर्नेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणक्यमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, धुव्रकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेशकुमार कटुवाल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दीनबन्धु बराल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधवप्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ र दुर्गा खड्का रहेका छन्।
यसअघि पहिलो पटक न्याय सेवा आयोगले खुला प्रतियोगिताबाट न्यायाधीशका लागि लिएको परीक्षाबाट उत्तीर्ण भएका १६ जिल्ला न्यायाधीशलाई शपथ गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।