काठमाडौं– दुई महिनापछि अवकाश पाउन लागेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री चीन र म्यान्मार भ्रमणको तयारीमा छन्। उनी गत महिना मात्र पाकिस्तान भ्रमणमा गएका थिए।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणमा उनी मंगलबार चीन भ्रमणमा जान लागेका छन्।
चीनबाट उनी सिधैं म्यानमार जाने छन्। दुवै देशको भ्रमण पुरा गरी उनी २९ गते स्वदेश फर्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरु चीन तथा म्यान्मारका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनसम्पर्क निर्देशनालयको बिज्ञप्तीमा उल्लेख छ।
सैनिक कुटनीति विस्तारको नाममा प्रधानसेनापति क्षत्रीले अनाबश्यक रुपमा समेत कतिपय देशको भ्रमण गरेको भनेर आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।