काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालय स्तरबाट विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ।
अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सोमबार उक्त समिति गठन गरेको हो। मन्त्रालयको जलस्रोत महाशाखाका प्रमुख महेश्वर नरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिंचाइ विभाग, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरु रहेका छन्।
वर्षायामको बेला हुने जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानीका लागि आवश्यक सर्तक गराउने उद्देश्यले समिति गठन गर्नुपरेको ऊर्जामन्त्री वर्षमान पुनले बताए।
मन्त्री पुनले समितिले मौसमको पूर्वानुमान र वर्षाका कारण हुने समस्याबारे चौबीसै घन्टा पूर्वसूचना दिने व्यवस्था मिलाइएको पनि जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डुबान भएका ठाउँहरुमा मानवीय क्षति हुन नदिन विद्युत् आपूर्ति बन्द गर्ने लगायतका सावधानी अपनाइएको जानकारी दिए। उनले हालसम्म विद्युत् सव–स्टेशन बन्द हुनेगरी डुबान समस्या नदेखिएको पनि स्पष्ट पारे।
मन्त्रालयले बाढी, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।