काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेका आठ जना श्रमिकलाई सरकारले राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मान गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा सिकेको सिपका आधारमा कृषि, उद्योग प्रविधि लगायतका विभिन्न क्षेत्रमा उद्यमी बन्नेहरुलाई सोमबार मन्त्रालयमै कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
मन्त्रालयले सर्वेत्कृष्ट उद्यमी पुरस्कार लमजुङ सुन्दर बजारका सोनाम लामा (नेपाल एग्री कल्चर) लाई दिएको छ। यस्तै, उत्कृष्ट पुरस्कारबाट देवीप्रसाद खत्री, बाग्लुङ (अलैंची कृषि कम्पनी प्रालि) हरि लुइँटेल, खोटाङ (मनकामना होटल र भुलभुले नमूना कृषि फार्म) खोजराज कटुवाल, काठमाडौं (थोपा सिँचाइ प्रालि), गणेश पुन मगर, पर्वत (वैशाली कृषि तथा बाख्रा फर्म) प्रेमप्रसाद लामिछाने, बर्दिया (प्रेसिका एग्री फार्म) द्रोणप्रसाद न्यौपाने, रुपन्देही (पायोनियर एकीकृत कृषि केन्द्र) र रामदिपाल थारु, बर्दिया (नादा एग्रो एन्ड सिड प्रोडक्सन) सम्मानित भएका छन्।
सरकारले विदेशको सिप नेपालमा उपयोग गर्ने उद्यमीहरुलाई गत आर्थिक वर्षदेखि पुरस्कृत गर्न सुरु गरेको थियो।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले बाध्यताकारी वैदेशिक रोजगारी अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाइरहेको बताए। यस्तै, मन्त्री विष्टले विदेशबाट सिप लिएर फर्किएका कामदारको पहिचान गरी नेपालमा उद्यमी तथा उद्योग खोल्न श्रम मन्त्रालयले आर्थिक सहयोग गर्ने पनि घोषणा गरे।
विदेशबाट फर्किएर उद्यम गरिरहेका २३ जना उद्यमीले राष्ट्रिय उद्यमी पुरस्कारका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ। जसमध्ये मन्त्रालयले पुरस्कारका लागि ८ जनालाई छनोट गरेको हो।
आगामी आर्थिक वर्षदेखि भने सात वटै प्रदेशबाट उद्यमी पुरस्कार दिने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।