पर्सा- दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगन्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन्।
महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन्।
वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए। महानगरपालिकाले वर्षायाम हुनु अगावै नालीको सफाइ नगरेकाले पानी घरघरमा पसेर समस्या भोग्नुपरेको उनले गुनासो गरे।
सडकको पानी जम्मा भएकाले विद्यार्थी लगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। नगरक्षेत्रको डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए। डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एस्काभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।