काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सांसदहरुले हरेक दिन १५ रुपैयाँको पानीजहाज चढ्ने गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले चीन भ्रमणका विषयमा प्रधानमन्त्रीले जवाफ दिँदै गर्दा सांसदहरुले प्रश्न गर्न पाउनुपर्ने विशेषाधिकार हनन भएको टिप्पणी गरे। ‘हामी हरेक दिन सबैजसो सांसद पानीजहाज चढेर आउँछौं, त्यो पनि १५ रुपैयाँको जहाजमा चढेर’, उनले भने, ‘कोही साँखु–चाबहिलवाट त कोही कलंकी त्रिपुरेश्वरको पानीजहाज चढेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँछौं।’
आजको प्रश्न रेलेको मात्र नभई लिपुलेकको पनि भएको भन्दै उनले लिपुलेकको बारेमा सांसदहरुले जवाफ माग्दा प्रधानमन्त्रीले पाना पल्टाउने अनि पानीजहाज र रेलको सपना बाँड्नुले कसरी विश्वास गर्ने भन्दै टिप्पणी गरे।
‘रेल आउँदा चढौंला तर अहिले दैनिक चारपांग्रे पानीजहाज चढ्दा किन त्यसको मर्मत भएन’, उनले भने, ‘उखान र टुक्का जोडेर ठूला कुरा गर्ने काम भने सामान्य जनताको दैनिकीलाई पनि सम्बोधन नगर्ने सरकारको शैली कहिलेसम्म चल्ने हो?’
ज्यान मार्ने कार्यमा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेललाई सर्वोच्चबाट छोड्ने तर जुम्ला पुगेर अनसन थालेका डा गोविन्द केसीलाई पक्राउ गरेर चिसो भुइँमा राख्ने सरकार जनपक्षीय नभएको उनले बताए। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पुन: संसदमा बोलाउन पनि सांसद रसाइलीले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।