काठमाडौं- देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिन लगातार वर्षा हुनसक्ने जनाएको छ।
वर्षाका कारण आज पूर्वदेखि पच्चिम भागको चुरे र महाभारतबाट बहने प्रायः सबै खोलामा बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ। मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाँडो, गागन, लालबकैया, कमला, पूर्वि राप्ती, बागमती, रिउखोला, विनयखोला, बाणगङ्गा, पच्चिम राप्ती, बबई, मोहान, मछेली लगायत आसपासका नदीहरूमा उच्च सतर्क रहन महाशाखाले भनेको छ।
महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेलले अधिकांश नदीहरुको जल सतह समेत बढेको हुँदा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन आग्रह गरेका छन्।
यो वर्षको मनसुन पूर्ण रुपमा भित्रिसकेको हुँदा पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भूभागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले आग्रह गरेको छ। भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।