काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा त्रुटि गरेको भन्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई मन्त्रालयमा तानेका छन्।
परीक्षाका नतिजा प्रकाशनका समयमा लापरबाही भएपछि मन्त्री पोखरेलले छानबिन समिति गठन गरेका थिए। पाँच दिनको समयसीमा पाएको समितिले आज मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा नतिजा प्रकाशनमा त्रुटि भएको देखाएपछि नियन्त्रक रेग्मीलाई मन्त्रालयमा तानिएको मन्त्री पोखरेलले जानकारी दिए।
उनका अनुसार परीक्षा नियन्त्रक रेग्मीलाई मन्त्रालय तानेपछि कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ।
‘नतिजा प्रकाशनमा त्रुटि देखिएको पाइएपछि परीक्षा नियन्त्रकलाई मन्त्रालयमा ल्याइएको हो,’ मन्त्री पोखरेलले भने, ‘विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको नतिजा प्रकाशनजस्तो कुरामा लापरबाही हुनु हुँदैन।’
उनले नयाँ जिम्मेवारी पाएका नियन्त्रकलाई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएको जनाए।
एक साताअघि प्रकाशित भएको एसइईको नतिजामा ९ हजारभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।