काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यबारे जनतालाई आश्वस्त पार्न पनि आत्मविश्वासका साथ अघि बढ्न पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए। पार्टीका सांसदहरुलाई नियमित भेटघाट गर्ने कार्यक्रम अन्तर्गत आइतबार प्रदेश नम्बर १ का सांसदहरुसँग सिंहदरबारमा सामुहिक भेट गर्दै उनले सरकार मुलुकलाई समृद्ध बनाउने मिसनका साथ अघि बढेकाले त्यसमा साथ दिएर अघि बढ्न सांसदलाई सचेत गराए।
सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीले आफूहरुलाई निर्देशन दिएको भेटमा सहभागी सांसद योगेश भट्टराईले जानकारी दिए। त्यसक्रममा पार्टीका सांसदहरुले पनि जनताको गुनासोबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका सांसद भट्टराईले बताए।
प्रधानमन्त्री ओलीले आइतबारबाट पार्टीका सांसदहरुको औपचारिक भेटघाट कार्यक्रम सुरु गरेका हुन्। पार्टीका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम र विनियोजन बजेटबारे आलोचना गरिरहेका छन्। प्रधानमन्त्री ओलीले भेटमा बजेट पर्याप्त नभएकाले सबै क्षेत्रमा माग अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको स्पष्टिकरण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।