एजेन्सी– फ्रान्सका एक कुख्यात डन फिल्मी शैलीमा जेलभित्रैबाट हेलिकोप्टर चढेर भागेका छन्। रेडोइन फैद नामक डन पेरिसको दक्षिणी भागमा रहेको जेलबाट आइतबार भागेका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार जेलकै प्रागणमा हेलिकोप्टर ल्याण्ड गर्न लगाएर उनी भागेका हुन्।
पूर्वयोजनाअनुसार उनको रिहाईको माग गर्दै तीन जना व्यक्ति जेलको गेटमा पुगेका थिए। गेटमा खटिएका सुरक्षाकर्मीको अलमलाएका थिए। त्यही बेलामा हेलिकप्टर ल्याण्ड गरेको थियो। लगत्तै हतियारधारी ती व्यक्तिहरुले भेटघाट कक्षमा रहेका फेडलाई हेलिकोप्टर चढाएका थिए। हेलिकोप्टरका पाइलटलाई समेत उनीहरुले नियन्त्रणमा लिएर सो योजनामा सामेल गरिएको बताइएको छ।
प्रहरीको हत्या आरोपमा उनी ८ वर्षअघि पक्राउ परेका हुन्। डकैती प्रयास असफल भएपछि उनले प्रहरीकै हत्या गरेका थिए।
सन् २०१३ मा पनि उनी जेलबाट भागेका थिए। त्यतीबेला उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।
उनी फ्रान्सका कुख्यात डनका रुपमा चिनिन्छन्। स्कारफेस, हिट जस्ता बलिउडका चर्चित फिल्मबाट प्रभावीत भएर आफु अपराधको बाटोमा लागेको उनले बताउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।